२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाली क्रिकेटको ऐतिहासिक सफलता


0
Shares

जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

नेपालले पपुवा न्यूगिनीमाथि शानदार ६ विकेटको जित हासिल गर्दै यो उपलब्धि चुमेको हो ।

अर्को टिम हङकङ नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालले एक खेलअघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउने भएकाले युएई, स्कटल्यान्ड र नेपालले अवसर पाउँदा पपुवा न्यूगिनी र हङकङ डिभिजन–२ मा घटुवा भएका छन् ।

नेपालले पपुवा न्यूगिनीलाई नेपाल ६ विकेटले हरायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । उनले ब्याटिङमा अविजित रहँदै ५० तथा बलितर्फ ४ विकेट लिए ।

जितका लागि पाएको ११५ रनको सामान्य चुनौती नेपालले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्नेक्रममा दीपेन्द्रले ५८ बलमा ५० तथा आरिफ शेखले २६ रन जोडे ।

कप्तान पारस खड्काले २०, अनिलकुमार शाहले ९, रोहितकुमार पौडेलले अविजित रहँदै ३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले एक रन बनाएका थिए ।

त्यसअघि, टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै पपुवा न्यूगिनीलाई निर्धारित् ५० ओभरको खेलमा २७ ओभर २ बलमै अलआउट गर्दै ११४ रनमा समेटेको थियो ।

दीपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर तथा सन्दीप लामिछानेले ८ ओभरमा २९ रन खर्चेर समान ४/४ विकेट लिए । सोमपाल कामी र करण केसीले १/१ विकेट लिए ।

बिहीबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हरायो । नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएकामा हङकङ १३० रनमै समेटियो ।

अब सातौं स्थान तथा प्लेट च्याम्पियनका लागि नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैगरी, नवौं स्थानमा लागि शनिबारै हङकङ र पपुवा न्यूगिनी खेल्नेछन् ।