१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


न्यूजिल्यान्डमा १४५ ओटा ह्वेल मृत भेटिए


0
Shares

वेलिङटन, मंसिर १० । न्यूजिल्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा १४५ ओटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

न्यूजिल्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री (हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए ।

स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए ।

‘धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्कँदो अवस्थाका कारण सहज मृत्युवरण गराउनुबाहेक अरु विकल्प थिएन’–उनले भने–‘तर, यो निर्णय मुटुमाथि ढुंगा राखेर गर्नुपरेको थियो ।’

एक साताभित्रै न्यूजिल्यान्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो । न्यूजिल्यान्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिनेक्रम सामान्यझैं हो ।

संरक्षणकर्मीहरुकाअनुसार वर्षमा औसतमा ८५ ओटा घटना ह्वेलसँग जोडिएका हुन्छन् ।

आइतबार १० ओटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरु उत्तरी आइल्यान्डमा अलपत्र भेटिएका थिए । तीमध्ये दुईओटाको मृत्यु भइसकेको छ भने बाँचेका अरुको उद्धार गर्ने प्रयत्न जारी रहेको छ ।

ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् ? भन्ने यथार्थ जानकारी छैन ।

तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा संकटपूर्ण मौसमले समुद्रका यी भीमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ । रासस/एएफपी