
मंगलबार पेइचिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिएका हुन् ।
उनले ‘चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिनेछ’–भने ।
प्रधानमन्त्री खछ्याङ्ले भने–‘हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जनागर्ने लक्ष्य बनाएका थियौं । तर, अब यसमा सरकारले गम्भीररुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ ।’
उनले गएको पाँच वर्षमा चीन सरकारले देशमा ६ करोड ६० लाख नयाँ रोजगारी सिर्जना गरेको पनि जानकारी गराए ।
रोजगारी कुनै व्यक्ति वा परिवारका लागिमात्र महत्वपूर्ण नभइ सरकार र देशका लागि पनि हो भन्दै प्रधानमन्त्री खछ्याङले देशमा नयाँ–नयाँ रोजगारी सिर्जना गर्नका लागि सरकारले निकै मिहिनेतका साथ काम गरिरहेको जानकारी दिए ।
यस वर्ष गाउँबाट सहरमा आउने करिब ३० लाख मानिसले रोजगारी खोज्ने पनि जानकारी उनले दिए । ‘त्यसैले पनि सरकार ती क्षेत्रमा रोजगारीका लागि काम गरिरहेको छ’–उनले भने ।
चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने आप्रवासी कामदारहरुकोे संख्या २८ करोड रहेको छ ।
उनीहरुले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारहरुको खाँचो टार्नेमात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याएको अनुमान सरकारको छ ।
ती सबै आप्रवासी कामदारहरुको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र त्यसका लागि काम गरिरहेको जानकारी उनले दिए ।
प्रधानमन्त्री खछ्याङ्ले यस वर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि सहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिए ।
सरकारले सिर्जना गरेको यस नयाँ रोजगारीले उनीहरुका लागि काम गर्ने उनले बताए । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्