
अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विवरणको अभिलेख संकलन गर्ने ट्रम्प प्रशासनले जनाएको छ ।
भिसाका लागि आवेदन दिने सबैले आफ्ना ट्विटर र फेसबुक खाताका विवरण उपलब्ध गराउनुपर्ने अमेरिकी विदेश मन्त्रालयको प्रस्ताव छ ।
जसअनुसार पछिल्लो पाँच वर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका खाताबारे जानकारी उपलब्ध गराउनु पर्नेछ । यदि नयाँ व्यवस्था कार्यान्वयनमा आए त्यसले करोडौं मानिस प्रभावित हुनेछन् ।
संकलित सूचना जानकारी हासिल गर्न र आप्रवासी वा गैरअप्रवासी प्रवेशाज्ञाको निवेदन दिएका व्यक्ति उपयुक्त वा अनुपयुक्त भएको निक्र्यौल गर्न प्रयोग गरिनेछ ।
निवेदकले पाँच वर्षसम्म प्रयोग गरेका टेलिफोन नम्बर, इमेल ठेगाना र यात्रा विवरण उपलब्ध गराउनुपर्नेछ ।
कुनै देशबाट कहिल्यै देश निकाला गरिए वा नगरिएको, कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको भन्ने सूचना पनि दिनुपर्नेछ ।
तर यो नियमले प्रवेशाज्ञा विना नै यात्रा गर्न अनुमति पाउने ब्रिटेन, क्यानडा, फ्रान्स र जर्मनीका नागरिकलाई भने असर गर्ने छैन ।
यस नीतिको नागरिक स्वतन्त्रता समूहहरूले भने गोपनीयतामाथिको अतिक्रमण भन्दै आलोचना गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्