२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नाइजेरियामा बोको हराम विद्रोही र सैनिकबीच भिडन्त, १८ जना मारिए


0
Shares

आइतबार राति गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकूहरुले आक्रमण गरेका थिए । त्यसपछि सेनाले पनि आफ्नो तर्फबाट आक्रामक कारबाही थालेको थियो ।

त्यसमा परी मारिएका १८ जनामा अधिकांश बोको हराम नै रहेका छन् । त्यसमा परी केही सैनिक घाइते भएका बताइएको छ । सेनातर्फ भने कसैको ज्यान नगएको अधिकारीहरुले जनाएका छन् ।

सैनिक अधिकारीकाअनुसार बोको हराम र सेनाको भिडन्तको बीचमा परेर भाग्ने प्रयत्न गरेका उक्त गाउँका सर्वसाधारण पनि सो दोहोरो आक्रमणमा परी मारिएका छन् ।

यहाँको बोर्नाे राज्यको बालेसुवा र बाले कुर्ना भन्ने दुई गाउँबाट १८ ओटा शव बरामद गरिएको सेनाले जनाएको छ ।

सेनाको विज्ञप्तिकाअनुसार उक्त राज्यमा मारिएकामा सोही गाउँका बोको हरामका लडाकू रहेका छन् ।

बोर्नाे राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन सुरु गरेका पनि बताइएको छ । सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् ।

यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ ।

नाइजेरियामा बोको हरामले ठूलो हिंसा मच्चाइरहेको छ । विद्रोहीहरुलाई यहाँको राज्यले नै आतंककारी समूहमा राखेको छ ।

उनीहरुको हिंसाका कारण लाखौं–लाख मानिस विस्थापित भएका छन् । हिंसा अझै रोकिएको छैन । रासस/एएफपी