
काठमाडौं, बैशाख ३ । इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।
गएराती भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ब्रोमले पराजित गरेपछि म्यान्चेस्टर सिटीले ५ खेल बाँकी छँदै उपाधि जितेको हो ।
म्यान्चेस्टर युनाईटेड विरुद्ध वेष्ट ब्रोमलाई विजयी गराउन जे रोड्रिग्वेजले ७३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
म्यान्चेस्टर युनाईटेडको यो हार सोही शहरको अर्को क्लव म्यान्चेस्टर सिटीलाई च्याम्पियन बनाउन पर्याप्त थियो ।
लिगका ३३ खेलबाट म्यान्चेस्टर सिटीले ८७ अंक जोडेको छ । समान खेलबाट ७१ अंक जोडेको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड सिटीभन्दा १६ अंकले पछि छ ।
म्यान सिटीको यो उपाधि पछिल्लो सात सिजनमा तेस्रो लिग उपाधि हो भने क्लवका लागि अहिलेसम्मको पाँचौ उपाधि हो ।
सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले उपाधि जिताएका हुन् ।
पूर्व बार्सीलोना प्रशिक्षक ग्वार्डीयोलाले म्यानचेस्टर सिटीको प्रशिक्षण समालेको दोस्रो वर्ष नैं टोलीलाई प्रिमियर लिग च्याम्पियन बनाएका हुन् ।
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको अर्को खेलमा आर्सनललाई न्युकासल युनाईटेडले २-१ ले हराएको छ ।
प्रतिक्रिया दिनुहोस्