
मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिका–४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनम भट्टलाई कक्षा ८ मा भर्ना गराएका हुन् ।
राजनीतिज्ञले आफ्नो छोराछोरीलाई महँगा बोर्डिङ तथा विदेशमा पढाउने परम्परा चलिरहेका बेला पत्नी दुर्गा भट्टलाई साथमा लिएर मुख्यमन्त्री भट्ट आफ्नी छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गर्न विद्यालय पुगेका हुन् ।
उनकी छोरी पुनम यसअघि डोटीको देवस्थल माविमा अध्ययन गर्दै आएकी थिइन् ।
सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण घट्दै गईरहेका बेला मुख्यमन्त्री भट्टले भर्ना अभियान सञ्चालन भईरहँदा छोरीलाई धनगढीको सामुदायिक विद्यालयमा भर्ना गरेका हुन् ।
मुख्यमन्त्री भट्टले सबैले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने वातावरण प्रदेश सरकारले बनाउने बताए । उनले सरकारी विद्यालयप्रति सबैको विश्वास जगाउन नीति बनाउने कार्य भईरहेको जानकारी दिए ।
उनले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीदेखि राजनीतिज्ञले समेत आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेमा जोड दिए ।
प्रदेश ७ का नौ जिल्लामा ६ हजार ४ सय २२ बालबालिका स्कुलबाहिर छन् । क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्यांकअनुसार बाजुरामा ४ सय ३२, बझाङमा ५ सय १४, अछाममा १ हजार १ सय ५६, डोटीमा ४ सय ७७, कैलालीमा २ हजार ३ सय ९४, दार्चुलामा २ सय ६३, बैतडीमा १ सय १४, डडेल्धुरामा ३ सय ३२ र कञ्चनपुरमा ६ सय ४० बालबालिका स्कुलको पहुँचभन्दा बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस्