
तेह्रथुम, बैशाख ८ । तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारका बासिन्दाले आफूले भोगचलन गर्दै आएका जग्गाको अझै लालपुर्जा नपाएको गुनासो गरेका छन् ।
जिल्लाकै पुरानो ऐतिहासिक पोक्लाबाङ गढीको नामबाट चिनिएको यो बजार २०३० सालबाट विस्तार भएको हो ।
टाढाबाठा केही परिवारबाहेक बजारमा बस्ने करिब एक सय घरधुरीले अझैसम्म लालपुर्जा नपाएको स्थानीयको गुनासो छ ।
स्थानीय राजनीतिक दलहरुको पहलमा पटक–पटक लालपुर्जा माग गरिए पनि हालसम्म कसैबाट सुनुवाई नभएको उनीहरुको भनाई छ ।
धार्मिक, प्राकृतिक र पर्यटकीय स्थलको समेत संभावना बोकेको यो बजारमा तिव्र वस्ती विस्तारसँगै विना धनीपुर्जा जग्गाको कारोबारसमेत हुने गरेको छ ।
बजारमा सडक, विजुलीलगायतका सुविधा पुगे पनि स्थानीयले आफूसँग लालपुर्जा नहुँदा समस्यामा परेको बताएका छन् ।
जग्गा धनी पुर्जा नहुँदा बजारबासीले सरकारी कार्यालयका काम कारबाही र अन्य वंैकिङ कारोबारसमेत गर्न पाएका छैनन् ।
गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बजारबासीलाई लालपुर्जा वितरणको प्रक्रिया शुरु गर्न लागिएको बताए ।
प्रतिक्रिया दिनुहोस्