२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


माईभ्याली गोल्डकप : पुलिस क्लव क्वाटरफाइनलमा


0
Shares

प्रकाश नेपाल/
इलाम , वैशाख ९ । नेपाल पुलिस क्लव इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार इलामको ठूलो टुँडीखेलमा भएको प्रतिष्पर्धात्मक खेलमा नेपाल पुलिस क्लवले भारतको कोलकाताको दुर्गापुर स्टील क्लवलाई ३–१ गोल अन्तरले पराजित गरी अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

मध्यान्तर अगाडिको ३६ औं मिनेटमै नेपाल पुलिस क्लवका रेजिन सुब्बाले पहिलो गोल गरि खेल रोमाञ्चक बनाएका थिए । दुर्गापुर स्टील क्लव कोलकाताका खेलाडि सगुनले मध्यान्तर अगाडि अतिरिक्त समयमा गोल गरी खेललाई बराबरीमा पुर्‍याए ।

मध्यान्तरपछि पुलिस क्वलको दवाव निरन्तर थियो । मध्यान्तर पछिको अतिरिक्त समयमा नेपाल पुलिस क्लवका सुमन लामाले पेनाल्टीको अवसरलाई सदुपयोग गरि गोल गरे । यस्तै खेलको अन्तिम समयमा पुलिस क्लवकै रवि पासवानले प्रहरीकोतर्फबाट तेस्रो गोल गरे ।

विजयी टीम नेपाल पुलिस क्लवले वैशाख १३ गते थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

नेपाल पुलिस क्लवका रेजिन सुव्वा आजको खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो तीन बजेबाट पहिलो क्वाटरफाइनल खेल आयोजक टीम माइभ्याली फूटबल कलव र मनाङ मर्स्याङ्दी क्लवबीच हुने आयोजकले जनाएको छ ।