२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


वैशाख २२ गते एन्फाको निर्वाचन गर्न प्रस्ताव


0
Shares

काठमाडौं, वैशाख १० । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले यही वैशाख २२ गते शनिबार निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति प्रस्ताव गरेको हो । तर उक्त मितिमा चुनाव हुन उच्च अदालत पाटनले एन्फाको चुनाव रोक्न दिएको अन्तरिम आदेश खारेज हुनुपर्नेछ ।

यदि उच्च अदालतले यसअघिकै आदेशलाई निरन्तरता दिएको अवस्थामा भने वैशाख २२ गते निर्वाचन गर्न नसकिने निर्वाचन समितिले जनाएको छ ।

यसअघि गत चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चुनाव रोक्न आदेश दिएको थियो ।

त्यसपछि यी दुई जिल्ला फुटबल संघको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो ।

एसियन फुटबल महासंघ (एएफसी)ले चुनाव मिति जतिसक्दो चाँडो तोक्न एन्फालाई यसअघि नै निर्देशन दिएको थियो ।

एन्फाको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ ।