Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विद्यालयलाई साबुन दिन नसकेपछि बादी समुदायका बालबालिका भर्ना भएनन्


0
Shares

डीबी विष्ट/
बझाङ, वैशाख १० । देशभरी वैशाख १ गतेबाट सरकारले स्कुल जाने उमेरका सबै बालबालिकाहरुका लागि निःशुल्क भर्ना अभियान संचालन गरिरहेको भए पनि बझाङको थलारा उमावि खोलीमा रहेको विद्यालयले भने विद्यार्थी भर्ना गर्दा साबुन माग्ने गरेको छ ।

प्रत्येक विद्यार्थीले एउटा साबुन ल्याउनुपर्ने बाध्यकारी नियम विद्यालयले बनाएपछि यहाँका विपन्न गरिब बादी समुदायका अभिभावकले साबुन दिन नसकेर आफ्ना बालबालिकालाई भर्ना गराएका छैनन् ।

अघिल्ला बर्षहरुमा पनि यस विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा भर्ना शुल्क लिने गरेकोमा यसपाली साबुन दिनुपर्ने नियम बनाएको हो ।

यस बर्षको शैक्षिक सत्रबाट यस विद्यालयले विद्यालयमा सरसफाई कार्यक्रम लागू भएको भन्दै विद्यालयका शौचालय, बाथरुमहरुमा साबुन राख्नु पर्ने र फोहोर छोएपछि साबुन पानीले हात धुनुपर्ने भन्दै भर्ना हुने प्र्रत्येक विद्यार्थीबाट एक–एक साबुन लिने नियम बनाएको हो ।

‘तीन दिनअघि विद्यालयमा म नातिनीको नाम लेखाउन पुगेँ,’ थलारा गाउँपालिका–५, खोलीकी पुनी देवी बादीले भनिन्, ‘सरहरुले साबुन दिएमात्र भर्ना गर्ने भनेपछि साबुन किन्ने पैसा नभएर त्यसै फर्किएँ ।’

पुनी देवीकी नातीनी सुर्मा कुमारी बादीको यस बर्ष कक्षा ४ भर्ना हुनुपर्ने हो ।

विद्यालयले साबुन ल्याएमात्रै विद्यार्थीको भर्ना गर्ने नियम बनाएपछि विपन्न पुनीदेवी बादीजस्तै खोली थलामा रहेका २८ परिवार बादी समुदायका बालबालिका भर्ना हुन सकेका छैनन् ।

दैनिक ज्याला मजदुरीका साथै गाउँगाउँमा खाद्यान्न मागेर जीविका चलाउदै आएका विपन्न बादी समुदायहरुमा चरम गरिबी छ । एक छाक टार्नका लागि मागेर गुजारा चलाउँदै आएका यहाँका बादीहरु निःशुल्क शिक्षा भए पनि विभिन्न बहानामा विद्यालयले खर्च गराउने भएपछि आफ्ना छोराछोरीलाई पढाउन नसकिने गुनासो गर्छन् ।

जिल्ला शिक्षा कार्यालयका नायब सुब्बा दिर्घराज भट्टले भने भर्नाका लागि कुनै जिन्सी तथा नगद माग्न नहुने बताउँदै यसबारे सो विद्यालयका प्रचार्यसँग जानकारी लिने बताए ।