वासुदेव वर्मा/ईमेज:
कपिलबस्तु, बैशाख ११ । कपिलवस्तुका सात वटा स्थानीय तह दमकल विहीन अवस्थामा छन् ।
जिल्लाको १० वटा स्थानीय तहमध्ये तीन वटा नगरपालिकाले मात्र दमकलको ब्यवस्था गरेका छन् । बाँकी ७ वटा स्थानीय तहले दमकल मागेरै काम चलाउने गरेका छन् ।
कपिलवस्तु जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् ।
हावाहुरीसंगै आगलागीको मौसम शुरु भएकाले आगलागी नियन्त्रणका लागि दमकलको अभाव एकातिर खड्कीएको छ भने आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्ति समेत नष्ट हुने गरेको छ ।
जिल्लाको वाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिका बाहेक अन्यमा दमकल छैनन् ।
९३ हजार घरधुरी र ६ लाख भन्दा बढी जनसंख्या रहेको जिल्लामा दमकल भने जम्मा तीन वटा स्थानीय तहमा मात्र छन् ।
हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भएको हुँदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने गरेको छ ।
गर्मीयामसँगै हावाहुरीको मौसम शुरु भइसके पनि जिल्लाका स्थानीय तहले यसबारे आवश्यक चासो दिएका छैनन् ।
आगलागी नियन्त्रणका लागि स्थानीय तहमा पर्याप्त स्रोत साधनको अभाव रहेको स्थानीय जनप्रतिनिधि नै बताउँछन् ।
जिल्लामा कुल ९३ हजार घरधुरीमा जम्मा ३ वटा दमकल संचालनमा छन् ।
सबैभन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा गाउपालिका, शुद्धोधन गाउपालिका र मायादेवी गाउँपालिकाले दमकल खरिद गरेका छैनन् ।
कृष्णनगर, कपिलवस्तु र वाणगंगा नगरपालिकामा संचालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदान समेत उपलब्ध गराएका छैनन् ।
कृष्णनगर नगरपालिकाबाट सेवा लिए वापत शिवराज नगरपालिकाले हालसम्म कुनै सेवा रकम उपलब्ध नगराएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिए ।
नगरपालिकाले रकम सहयोग नगर्दा दमकल सञ्चालनमा समस्या परेको कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल बताउँछन् ।
दमकल उपलब्ध रहेता पनि बजेट अभावले दमकल सञ्चालनमा भने समस्या आएको कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यको भनाइ छ ।
बुद्धभूमि, महाराजगञ्ज नगरपालिका तथा यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाहरूले समेत दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्च नदिएको नगरप्रमुख किरण सिंह बताउँछन् ।
जननिर्वाचित प्रतिनिधिहरू समेत आगलागीका संभावित घटना न्यूनिकरण तर्फ गम्भीर देखिएको पाइदैन ।
दमकल खरिद गर्न तथा आगलागीका घटना न्यूनीकरण गर्न स्थानीय तहले आवश्यक योजना बनाइनुुपर्ने देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्