२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पावर ट्रान्सफर्मर पड्किएपछि सप्तरी अन्धकार


0
Shares

सप्तरी, बैशाख १२ । पावर ट्रान्सफर्मर पड्किएपछि सप्तरीको विद्युत् सेवा प्रभावित भएको छ ।

नियमित प्रयोगमा रहेका दुईमध्ये एउटा पावर ट्रान्सफर्मर पड्किएपछि पाँच दिनदेखि जिल्लाभर विद्युत् अनियमित भएको हो ।

सप्तरी सदरमुकाम राजविराज र अन्य क्षेत्रको विद्युत् आपूर्तिका लागि दुई वटा पावर ट्रान्सफर्मर प्रयोगमा थिए ।

त्यसमध्ये सदरमुकाम राजविराजका लागि प्रयोग भइरहेको ट्रान्सफर्मर गत शुक्रबार राति पड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।

ट्रान्सफर्मर मर्मतका लागि भइरहेको प्रयास असफल भएपछि एउटै ट्रान्सफर्मरबाट आपूर्ति गर्नुपरेकाले विद्युत् अनियमित भएको केन्द्र प्रमुख चन्द्रनारायण साहले बताए ।

समस्याबारे क्षेत्रीय कार्यालय जनकपुरमा जानकारी गराइ सकिएको र प्राविधिक टोली आएर ट्रान्सफर्मरको समस्या पत्ता लगाउने प्रमुख साहले बताए ।

विद्युत् अनियमित भएपछि जिल्लाका कुल ६५ हजार उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । विद्युत्बाट चल्ने उद्योगधन्दा, सेलर मिल, काठका मिल पूर्णरुपमा प्रभावित छन् ।