
दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।
भारतको हल्दीबारीबाट कास्की, गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एलपी ग्यास बोकेको ‘एमएलओ १ एएओ १ ओ १’ नम्बरको बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताए ।
घाइते दुवैजनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
शक्ति ग्यास बोकेको उक्त बुलेट आफैं अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
बुलेट दुर्घटना भएको ठाउँमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । ग्यास पड्कनसक्ने अवस्थालाई मध्यनजर गरी त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरी उपरीक्षक जोशीले बताए ।
स्थानीय बासिन्दालाई घरदेखि पर बस्न र सलाई, लाइटरजस्ता प्रज्वलनशील वस्तु प्रयोग नगर्न आग्रह गरिएको बताइएको छ ।
त्यहाँ वरिपरि आगो नबाल्न र घरदेखि टाढा बस्न बस्तीमा सर्कुलर गरिसकेको प्रहरीले जनाएको छ ।
हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर व्यास नगरपालिकाको बारुणयन्त्र तयारी अवस्थामा राखिएको छ भने सो क्षेत्रको विद्युत्लाइन काटिएको प्रहरीले जनाएको छ ।
कास्कीको गगनगौडास्थित शक्ति ग्यास कम्पनीबाट प्राविधिकको टोलीसमेत ग्यास निकाल्न घटनास्थलतर्फ गइसकेको छ ।
सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै त्यस क्षेत्रका बासिन्दालाई सजक र सतर्क गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी उपरीक्षक जोशीको टोलीले घटनास्थलमा पुगेर निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्