२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


३३ केजी सुनकान्डः प्रहरी अधिकृतमाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दा


0
Shares

सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई बिहीबार जिल्ला अदालत मोरङमा पेस गरी थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।

पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङमा पेस गरिएको थियो ।

तीनैजनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

साढे ३३ केजी सुनका मालिक भनिएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।

यसअघि, गत आइतबार नेपाल प्रहरीका पूर्वडीआइजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यानअन्तर्गत् मुद्दा चलाइएको छ ।

गत ७ माघमा युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो ।

सुन खोज्नेक्रममा भरिया सनम शाक्यलाई ‘टर्चर’ दिएर हत्या गरिएको थियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ ।

यसबारे छानबिनकाक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।

सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति गठन गरेको थियो । घटनामा संलग्न हालसम्म २३ जना पक्राउ परिसकेका छन् ।