२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तेस्रो मातृभाषा पत्रकारिता दिवस मनाइयो


0
Shares

काठमाडौं, वैशाख १६ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली पत्रकारिताको दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिता प्रवर्द्धन गर्नुपर्ने खाँचो औंल्याएका छन् ।

९३ बर्ष अघि नेपालभाषाको पत्रकारिता शुरुआत भएको सन्दर्भमा आयोजित तेस्रो मातृभाषा पत्रकारिता दिवस समारोहलाई सम्बोधन गर्दै संस्कृतिविद् जोशीले धर्मादित्य धमाचार्यले त्यो बेला अनुरागले गरेको पत्रकारिता अहिले व्यावसायिक धारमा अघि बढिरहेको उल्लेख गरे । उनले राज्यको साथ र सहयोग हुनुपर्नेमा समेत जोड दिए ।

नेपाल सम्वत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले बुद्ध धर्म र नेपालभाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो । उनको जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा तीन वर्ष अघिदेखि मनाउन थालिएको हो ।

यही पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिलेसम्मको अध्ययनले प्रमाणित गरेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले मातृभाषा पत्रकारिता दिवसको औचित्य प्रकाश पारेका थिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको सो समारोहमा ललितपुर क्षेत्र नं २ का प्रदेश सांसद् ज्ञानेन्द्र शाक्यले प्रदेश नम्बर ३ को नाउँ ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालमण्डल राख्न संचार माध्यममार्फत प्रचार हुनुपर्नेमा जोड दिए । उनले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको उच्चतम् अभ्यासका लागि मातृभाषाको पत्रकारिताको विकास हुनुपर्नेमा समेत जोड दिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ्गले मातृभाषाकै पहिलो पत्रकार धर्माचार्यलाई राज्यले मान्यता दिएर मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्ने माग गरे । मुलक संघीयतामा गइसकेको सन्दर्भमा विविध भाषाको पत्रकारिताको विकासका लागि प्रदेश र स्थानीय तहले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो ।

समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन् भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसूचित हुने हक रहेको बताउँदै सहभागी वक्ताहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।

समारोहमा ज्यापू समाजका प्रथम उपाध्यक्ष सन्तमान महर्जन, ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकार लगायतले मातृभाषामा सूचना माग्ने र सुसूचित हुने हकको सम्मान गर्दै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा ललितपुरको पुल्चोकस्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा माल्यार्पण गरिएको थियो ।

दबूको आयोजनामा यही जेठ ३ गते मातृभाषाको पत्रकारिताको विकासमा बृहत अन्तर्क्रिया कार्यक्रम हुने जनाइएको छ ।