Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नगरभित्रका सबै विद्यालयमा सिसी क्यामेरा जडान


0
Shares

लहान, वैशाख १७ सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उद्देश्यका साथ विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले जानकारी दिए ।

नगर क्षेत्रभित्रका ६ वटा माविको सम्पूर्ण विद्यालय प्रांगण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको बरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई चार वटाका दरले क्यामेरा जडान गरिएको छ ।

तराईका जिल्लामा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख देवनाथ साहले बताए ।

विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने प्रमुख साहको कथन छ ।

क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सकिने बताइएको छ । (रासस)