२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


संसदको नियमावली मस्यौदा समितिमा विवाद कायमै, यस्तो छ मुख्य समस्या


0
Shares

अक्कल कुँवर/ईमेज:
काठमाडौं, बैशाख १८ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छिन् ।

संसद सचिवालयले बजेट अधिवेशनको पहिलो बैठकमा संसदको नियमावली पेश गर्ने कार्यसूची बनाएको छ । तर, नियमावली मस्यौदा समितिले अझै नियमावली मस्यौदालाई अन्तिम रुप दिन सकेको छैन ।

नियमावली मस्यौदा समितिमा संघीय संसदका समितिको संख्या, सांसद निलम्बनको व्यवस्था र राष्ट्रिय सभा सदस्यको पदावधिका लागि गरिने गोलाप्रथाका प्रक्रियामा मुख्य विवाद छ ।

विवादकै कारण संसदको बजेट अधिवेशन सुरु हुन केहि दिनमात्रै बाँकी रहँदा पनि नियमावली मस्यौदा समितिले मस्यौदा बनाउन सकस भईरहेको छ ।

समितिमा फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बित हुने कि नहुने भन्ने विषय जटिल बिवादको रुपमा देखा परेको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले फौजदारी अभियोगमा पक्राउ परेका सांसद तत्काल निलम्बन हुनपर्ने पक्षमा छ ।

तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र मधेश केन्द्रित दलहरु तत्काल निलम्बनको विपक्षमा छन् ।

समितिका सदस्य एवं नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले फौजदारी अभियोग लागेका सांसदलाई तत्काल निलम्बन गर्ने व्यवस्थाले राज्यशक्तिको दुरुपयोग हुनसक्ने जिकीर गरे ।

सत्तारुढ दलको अर्को घटक माओवादी केन्द्रले सांसद निलम्बनको विषयमा मध्यमार्गी बाटो सुझाएको छ ।

समितिका सदस्य एवं माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले अदालती आदेशबाट बन्दी बनाइएपछि निलम्बन हुनुपर्ने व्यवस्था उचित हुने बताए ।

राष्ट्रिय सभामा चार वटा विषयगत समिति राख्नेमा सहमति भएपनि प्रतिनिधिसभामा कति समिति राख्ने भन्नेमा विवाद कायमै छ ।

सत्तारुढ दल १० वटा विषयगत समिति राख्ने पक्षमा छन् भने प्रतिपक्ष नेपाली कांग्रेस बढीमा ७ समिति राख्नुपर्ने अडानमा छ ।

प्रतिनिधिसभा नियमावली समितिका सभापति कृष्णभक्त पोखरेलले विवादित विषयमा सहमति जुटाउन अधिकतम प्रयास गरिने तर सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गो लगाउने जानकारी दिए ।

तर, कांग्रेसका तर्फबाट समितिका सदस्य मीनबहादुर विश्वकर्माले बहुमतको आडमा मस्यौदा निर्माण गर्न खोजे गलत सन्देश जाने जिकीर गरे ।

विवादित विषयमा टुङ्गो लाग्न नसकेपनि बुधबार नै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको समितिका सदस्यहरुको दावी छ ।

प्रतिनिधिसभा र राष्ट्रिसभा दुवै नियमावली समितिको बैठक बुधबार बस्दैछ ।