
धनकुटा, वैशाख २१ । केही बर्ष यता बाँदर आतंकले धनकुटामा कृषिजन्य उत्पादन जोगाउनै स्थानीयलाई हम्मे–हम्मे हुन थालेको छ । बस्ती–बस्तीमा बाँदरले अत्याधिक दुःख दिन थालेपछि धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि आफै जंगल पुगेर बाँदर नियन्त्रणमा जुटेका छन् ।
स्थानीय तह निर्वाचनको बेला भोट माग्न टोल–टोल पुग्दा स्थानीयले बाँदर नियन्त्रण गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताएका थिए । सोही अनुरुप वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गीलगायतको टिमले अहिले आफूले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न लागेका हुन् ।
वडाको ग्रामिण क्षेत्रका मुख्य समस्या बाँदर भएकाले नियन्त्रण अभियान सुरु गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
बाँदरका कारण वडा नम्बर ६ सहित धनकुटामा तरकारीबाली, अन्न, फलफुललगायत कृषिजन्य बस्तुको उत्पादन लिन किसानलाई निकै चुनौतीपुर्ण बनेको छ ।
कृषिजन्य उत्पादनको फल बाँदरले खाइदिने र बाली नष्ट गरिदिने भएकाले चुनौतीपुर्ण बनेको हो । खासगरी जंगल आसपासको बस्तीमा भने यो समस्या विकराल छ । बाँदरका कारण दुःख पाएका स्थानीयबासी नियन्त्रण अभियान सुरु भएपछि निकै खुशी छन् । तर सबै क्षेत्रका बाँदर नियन्त्रण नहुँदा स्थानीय चिन्तित पनि त्यतिकै छन् ।
धनकुटा नगरपालिका वडा नम्बर ६ ले जिल्लामै पहिलो पटक बाँदर स्थानान्तरण गर्न सुरु गरेको हो । धरान र भारतबाट आएका ८ ब्यक्तिको समुहले बाँदरलाई जालमा पारेर नियन्त्रणमा लिने गरेका छन् ।
बाँदर नियन्त्रणको लागि वडा कार्यालयले पाँच लाख तथा धनकुटा नगरपालिकाले पाँचलाख गरी कुल दश लाख रुपैयाँ छुट्याइएको छ । बाँदर स्थानान्तरणको कार्य धेरै जटिल भए पनि स्थानीयको समस्यालाई समाधान गर्न आफूहरु लागिपरेको वडा सदस्य मिलन खड्गी बताउँछन् ।
यो पटक वडा नम्बर ६ सहित ३ र ४ का करिब सात सय बाँदर स्थानान्तरणको तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्