
रियाद, कात्तिक ३० । साउदी अरेबियाको सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमानले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले दिएको बताएका छन् ।
पत्रकार खशोग्जीलाई साउदी अरब फर्काउने जिम्मा पाएको टोलीको नेतृत्व गरिरहेका ती गुप्तचर अधिकारीको निर्देशनमा हत्या भएको एक प्रवक्ताले सञ्चारकर्मीहरुलाई बताए । पत्रकार जमाल खशोग्जीलाई इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा हात हालाहालको घटनापछि प्राणघातक सूई दिइएको पनि बताइएको छ ।
साउदी सरकारी अभियोजनकर्ताले उक्त हत्याका सम्बन्धमा ११ जनाविरुद्ध अभियोग लगाइएको बताएका छन् । जसमध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ ।
घटनामा संलग्न भएको आशंकामा अन्य १० जनाविरुद्ध छानविन जारी रहेको साउदी अधिकारीहरुले जनाएका छन् । यो घटनामा अहिलेसम्म २१ जनालाई हिरासतमा लिइएको छ भने दुई जनालाई पदबाट हटाइएको छ ।
पत्रकार सम्मलेनमा सहायक सरकारी अभियोजनकर्ता शलान बिन राजी शलानले खशोग्जीको हत्यापछि वाणिज्यदूतावासभित्रै उनको शवलाई टुक्रा पारिएको बताए । सरकारी अभियोजनकर्ता शलानले उक्त हत्याको अभियोगमा मुद्दा चलाइएकाहरूको नाम भने सार्वजनिक गरेनन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्