२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


लमजुङका तीन ठाउँमा शंकास्पद वस्तु


0
Shares

जिल्लाका सुन्दरबजार नगरपालिका–७, पाउँदीबजार, मध्यनेपाल नगरपालिका–४, दुईपिप्ले र मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङ रामबजारमा शंकास्पद वस्तु फेलापरेको हो ।

शनिबार बिहानै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।

दमौली–भोर्लेटार सडकमा पर्ने दुइपिप्ले गेटनजिकै र बेसीसहर–डुम्रे सडकको लमजुङ प्रवेशद्वार पाउँदी गेटमा भेटिएका विस्फोटक पदार्थलाई नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पाउँदी र दुईपिप्लेमा भेटिएका शंकास्पद वस्तुलाई सेनाको श्रीजंग गणको डिस्पोजल टोलीले निस्क्रिय बनाएकोे बताए ।

मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङको रामबजारस्थित माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाको साइड कार्यालयमा राखिएको विस्फोटक पदार्थ भने डिस्पोज भएको छैन ।

भारतीय कम्पनी जीएमआरले निर्माण गर्ने भनिएको ६०० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ को साइड कार्यालयमा शनिबार बिहान प्रेसरकुकरलाई बेरिएर राखेको अवस्थामा शंकास्पद वस्तु फेलापरेको हो ।

कार्यालयको कोठासँगै टाँसिने गरी उक्त वस्तु राखिएको छ ।

कार्यालयका सामाजिक विकास कार्यक्रम संयोजक राजन गुरुङकाअनुसार बिहान १० बजेतिरमात्रै उक्त वस्तु देखिएको थियो ।

प्रजिअ ढकालले जीएमआर कम्पनीको साइड कार्यालयमा राखिएको प्रेसरकुकर बमजस्तो देखिने वस्तु हटाउन सुरक्षाकर्मी खटाइसकेको बताए ।

खुदी र बाहुनडाँडाबाट प्रहरी साथै बाहुनडाँडा क्षेत्रमा निर्माण भइरहेको ङ्यादी हाइड्रोपावरको सुरुङ निर्माणका लागि विस्फोटक पदार्थ पड्काउँदै आएका सैनिक घटनास्थल पुगेका छन् । श्रीजंग गणबाट डिस्पोजल टोली पुगेपछिमात्र सो वस्तु निस्क्रिय पारिने प्रजिअ ढकालले बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहले २०७१ माघ १८ गते सो आयोजना निर्माण गर्न नदिने भन्दै कार्यालयमा झन्डा गाडेको थियो ।

त्यसअघि, विभाजन नहुँदैको नेकपा माओवादी, विभाजनपछि मोहन वैद्य नेतृत्वको माओवादी, त्यसपछि चन्द नेतृत्वको नेकपाले सो आयोजनामा अवरोध पुर्‍याउँदै आएको छ ।

भारतीय कम्पनी जीएमआर इनर्जी प्रालिको ८२ प्रतिशत र नेपालको हिमताल हाइड्रोपावर कम्पनीको १८ प्रतिशत लगानीमा निर्माण हुने भनिएको सो आयोजनाको डीपीआर हुँदैछ ।