
अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै ‘नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरिसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो’ भनी टिप्पणी गरेका थिए ।
उनले ‘यदि फ्रान्सेली नागरिकसँग पनि बन्दुक राख्न पाउने अधिकार भइदिएको भए पेरिसमा भएको आतंककारी हमलाबाट त्यति धेरै क्षति नहुने’ आशयको भनाइ राखेका थिए ।
राष्ट्रपति ट्रम्पको यो भनाइप्रति फ्रान्सले विरोध जनाएको हो ।
राष्ट्रपति ट्रम्पले राखेको उक्त धारणा फ्रान्सेली शान्तिप्रेमी जनताको पक्षमा नदेखिएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको हो । राष्ट्रपति ट्रम्पको यो धारणाप्रति उक्त मन्त्रालयले आपत्ति पनि जनाएको छ ।
ट्रम्पको उक्त दावीको खन्डन गर्दै उक्त मन्त्रालयले पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ ।
शुक्रबार टेक्ससमा आयोजना गरिएको राइफल एसोसिएसनको सभालाई सम्बोधन गर्नेक्रममा ट्रम्पले सो धारणा राखेका थिए ।
राष्ट्रपति ट्रम्पले ‘पेरिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने कुनै कर्मचारीसँग त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू भाग्थे या मारिन पनि सक्थे’ भनेर सो सभामा आफ्नो धारणा राखेका थिए ।
उक्त सम्बोधनकाक्रममा राष्ट्रपति ट्रम्पले पेरिसका हमलाकारीहरुले एक/एकजनालाई छानेर गोली हानेको र पीडितहरु कसैले पनि आफ्नो अवस्थाको सुरक्षा गर्न असमर्थ रहेको बताएका थिए ।
उनले गरेको बन्दुकप्रतिको यो टिप्पणीले यहाँका नागरिकलाई न्याय नगरेको विदेश मन्त्रालयलको भनाइ छ । त्यसो त उनले गर्ने गरेका बन्दुकसम्बन्धी टिप्पणीको अमेरिकाभित्रै पनि विरोध हुने गरेको छ ।
अमेरिकामा पनि समय–समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानुनमा कडाइ गर्न माग गर्दै जुलुस निकाल्ने गरिएको छ ।
नागरिकसँग बन्दुक नरहेको मौका छोपेर आतंककारीहरुको एउटा सानो समूहले नै पेरिसका ठूलो संख्याका सर्वसाधारणको हत्या गरेको उनले बताएका थिए ।
उक्त सभामा उनले भनेका थिए–‘तपाइँहरुले पनि ख्याल गर्नुभयो होला नि ! निकै थोरैको संख्यामा रहेका आतंकारीहरुले पेरिसमा १३० जनाको हत्या गरेका छन्, उनीहरुले समय लिएरै र निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।’
राष्ट्रपति ट्रम्पले भने–‘म यो कुरामा निश्चित छु कि पेरसका नागरिकसँग पनि बन्दुक भइदिएको भए त्यति धेरै संख्यामा त्यहाँ नागरिकको ज्यान जाने नै थिएन ।’ रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्