२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


डा.विष्ट र डा.अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान


0
Shares

काठमाडौं, बैशाख २४ । यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार ईमेज च्यानलका समाचार प्रमुख डा. महेन्द्र विष्ट र डा. राजेश अहिराजलाई प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरुलाई पुरस्कार प्रदान गरेको हो ।

शितल निवासमा आज गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. विष्ट र डा. अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेकी हुन ।

पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ । पत्रकारिता क्षेत्रमार्फत् समाजमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत डा. विष्ट नेपाल पत्रकार महासंघको पूर्व अध्यक्षसमेत हुन् ।

उनी लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् । त्यसैगरी डा. अहिराजले मधेसका मुद्दामा विशेष कलम चलाउँदै आएका छन् ।

यसैगरी मन्त्रालयले वरिष्ठ पत्रकारिता सम्मान भने बविता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर वुढाथोकीलाई प्रदान गरेको छ ।

सम्मानित भएकाहरुलाई पनि राष्ट्रपति भण्डारीले जनही दुई लाख रुपैयाँ प्रदान गरिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्र स्थापना गर्न सञ्चारमाध्यम र पत्रकारले पुर्‍याएको योगदान महत्वपूर्ण भएको बताइन् ।

उनले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागी गम्भीर भएर लाग्न पत्रकारहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी राज्यमन्त्री गोकुल वास्कोटाले पत्रकारिता पेशालाई व्यवस्थित गराउनुपर्ने खाँचो रहेको बताए ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले राष्ट्रको विकासमा सञ्चारकर्मी एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

१९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ ।

तीन वर्ष अघिदेखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो ।