३० असार २०८२, सोमबार | Tue Jul 15 2025


अब पत्रकारको तलब बैंक खाताबाट मात्र : राज्यमन्त्री बाँस्कोटा


0
Shares

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नम्बर–३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाइ तथा शुभकामना दिन सोमबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र सन्चार क्षेत्रको पारदर्शिताका लागि सरकारले आउँदो नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

उनले भने–‘पत्रकारलाई खाममा तलब दिने प्रथा अबदेखि बन्द गराउन लागेका छौं ।’

उनले मुलुकको समृद्धि र सुशासन भएमा पत्रकारिता क्षेत्र पनि समृद्ध हुने तथा साना लगानीका पत्रिकाले पनि सहजरुपमा विज्ञापन पाउने भन्दै विज्ञापन प्राधिकरण गठन गरी यस क्षेत्रलाई व्यवस्थित गरिने जनाउँदै सन्चार क्षेत्रले आलोचनात्मक चेतनाका साथ भ्रष्टाचार र दलालीकरणलाई उजागर गर्नुपर्ने बताए ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले सरकारको सुशासन र समृद्धिका कार्यक्रममा सन्चारमाध्यमले सघाउनुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकार महासंघमा सहमति र निर्वाचनका माध्यममा प्रदेश संरचना बनेको खुसी व्यक्त गरे ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले महासंघको नवनिर्वाचित उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, प्रतिष्ठान प्रदेशका अध्यक्ष शेखर अधिकारी, एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानालगायत पदाधिकारीलाई बधाइ र शुभकामना दिएका थिए ।

यही वैशाख २२ गते महासंघको प्रदेश निर्वाचन सम्पन्न भएको थियो । रासस