
यसअघि पनि दुईपटक नेपाल आइसकेका मोदीको यसपटकको भ्रमण भने तीर्थाटनकोरुपमा बढी चर्चामा छ ।
तीर्थाटनलाई विशेष महत्व दिएर नेपाल आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री बन्दैछन् ।
सामान्यतयाः नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरु सीधै काठमाडौं आउने परम्परा रहेपनि भारतीय प्रधानमन्त्री मोदी भने विहार हुँदै सीधै जनकपुर अवतरण गर्दैछन् । त्यसको पछाडिको उद्देश्य पनि धार्मिक नै रहेको छ, जानकी मन्दिरमा पूजाआजा ।
मोदीको तीर्थाटन जनकपुरमामात्रै सीमित रहने छैन, उनी हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि पनि जाने कार्यक्रम रहेको छ ।
नेपाल सरकार भने भ्रमणलाई धार्मिक स्वरुपमामात्रै रहन दिने पक्षमा छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैत अन्तिम साता भएको भारत भ्रमणकाक्रममा गरिएका सहमतिलाई सम्झौतामा रुपान्तरण गर्ने तयारी नेपालले गरेको छ ।
ओली र मोदीबीच जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सहमति भएको थियो । ती सहमतिलाई ठोसरुप दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
परराष्ट्रविद्हरुले भने भारतीय प्रधानमन्त्रीको भ्रमणलाई धार्मिक भ्रमणकारुपमामात्रै लिएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले मोदीको आसन्न भ्रमण मुख्यरुपमा धार्मिक नै रहने भन्दै त्यसलाई दुई देशबीचको धार्मिक सम्बन्धलाई नवीकरण गर्ने अवसरकारुपमा लिनुपर्ने धारणा राखे ।
परराष्ट्रविद् पाण्डेले मोदी राजनीतिक व्यक्ति पनि भएकाले भ्रमणकाक्रममा राजनीतिक भेटवार्ता हुनु स्वाभाविक हुने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्