
प्योङयाङ, वैशाख २७ । उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई हिरासतमुक्त गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकी नागरिक घर फर्कदैछन् ।
उत्तर कोरियाले राज्य विरोधी गतिविधि गरेको भन्दै किम हाक सङ, किम साङ डुक तथा किम दोङ चुललाई हिरासतमा लिएको थियो । उनीहरुलाई श्रम शिविरमा समेत राखिएको थियो ।
तीमध्ये दुईजना सन् २०१७ मा पक्राउ परेका तथा अर्का एकजना १८ महिनाअघि नियन्त्रणमा लिइएका हुन् ।
उत्तर कोरियाको यो कदम अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको ऐतिहासिक शिखर बैठकपूर्वको एउटा सद्भावपूर्ण संकेत मानिएको छ ।
हिरासतमुक्त गरिएका उनीहरु अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगै अमेरिका फर्कने ट्रम्पले बताएका छन् ।
बिहीबार बिहानै एन्ड्रुज हवाई अड्डामा उनीहरुको स्वागत गरिने पनि ट्रम्पले उल्लेख गरेका छन् ।
अमेरिकी विदेशमन्त्री पोम्पेओ भने ट्रम्प र किमबीच हुने आसन्न शिखर बैठकको प्रबन्ध मिलाउन उत्तर कोरिया गएका हुन् । ट्रम्पले विदेशमन्त्री पोम्पेओ र उत्तर कोरियाली नेता किमबीच भएको बैठक राम्रो भएको उल्लेख गर्दै किमसँग हुने प्रत्यक्ष वार्ताको स्थान तथा समय पनि तय गरिएको बताएका छन् ।
यद्यपि, त्यसबारे थप जानकारी भने दिइएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्