
दुईदिने नेपाल भ्रमणकाक्रममा रहेका मोदीलाई जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मोदीलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरे ।
सोक्रममा मोदीलाई १२१ किलोका तीनओटा मालाको सम्मान दिइयो । प्रदेश नम्बर–२ सरकार, वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला पहिर्याइदिएर सम्मान गरेका हुन् ।
अभिनन्दनसभालाई सम्बोधन गर्दै मोदीले नेपाल–भारत सम्बन्ध ‘रोटी र बेटी’को भएको उल्लेख गर्दै जनकपुर माता जानकीको भूमि भएको र योबिना अयोध्या अधुरो हुने बताए ।
उनले भारत र नेपालको संस्कृति, भाषा र सभ्यतामामात्रै समान नभएको बताउँदै नेपाल र भारतको सपना, उद्देश्य तथा सुख–दुःख पनि समान भएको उल्लेख गरे ।
उनले ‘नेपालको सहयोगबिना भारत अपूरो’ हुने बताउँदै ‘नेपालबिना भारतको काम पनि राम पनि अधुरो’ रहेको उल्लेख गरे ।
मैथिलीबाट सम्बोधन सुरु गर्दै पहिलोपटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेपनि आउन समय लागेकामा क्षमा माग्दै आफ्नो भ्रमण प्रधानमन्त्रीकारुपमा नभइ ‘प्रधान तीर्थयात्री’कारुपमा भएको पनि बताए ।
एक–अर्काको संवेदनशीलताप्रति सचेत
अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभइ भविश्यमुखी भएर अघि बढ्न चाहेको बताए ।
जनकपुर सहरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले नेपाल र भारतको सम्बन्धको आधार भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि उल्लेख गरे ।
नेपाल र भारतले एक–अर्काको सामिप्यतालाई बोध गर्ने र एक–अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि उनले बताए ।
यस्तै, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले भारत सरकारबाट आर्थिक, सामाजिक र सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताए ।
उनले मोदीले तेस्रोपटकको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गरी सद्भाव प्रकट गरेको भन्दै आभार व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणकाक्रममा शुक्रबारै बिहान जनकपुर आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्