२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


उत्तर कोरियाले परमाणु अस्त्र त्यागे आर्थिक विकासमा सघाउन अमेरिका तयार


0
Shares

वासिंटन, वैशाख २९ । उत्तर कोरिया आफ्ना पारमाणविक अस्त्र परित्याग गर्न सहमत भए अमेरिकाले उसको अर्थिक विकासमा सघाउने जनाएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिण कोरियाली साथीहरुसँग मिलेर उत्तर कोरियामा समृद्धि हासिल गर्नका लागि सघाउन अमेरिका तयार रहेको जनाएका हुन् ।

दक्षिण कोरियाली समकक्षी काङ्ग क्युङ्ग वहासँगको भेटमा अमेरिकी विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाले सही बोटो रोजेमा उसको भविष्य सुनौलो हुने बताएका हुन् ।

उनले आफ्नो उत्तर कोरिया भ्रमणमा त्यहाँका नेता किम जोङ उनसँग राम्रो कुराकानी भएको पनि बताए ।

पोम्पेओले उत्तर कोरियाली नेता किम सही बाटो रोज्छन् भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य आउने बताए । उनले छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्न प्योङयाङलाई आग्रह पनि गरे ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किमबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ । उत्तर र दक्षिण कोरियाबीच अप्रिलमा महत्वपूर्ण वार्तापछि ट्रम्प र किम शिखर बैठक गर्न सहमत भएका हुन् ।

उत्तर र दक्षिण कोरियाबीच हालै सम्पन्न शिखर बैठकमा कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रबाट मुक्त पार्न मिलेर काम गर्ने सहमति भएको थियो । (एजेन्सी)