२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन, भनेः नेपालको विकास लागि ‘शेर्पा’ बन्न तयार छौं


0
Shares

काठमाडौं, बैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरकातर्फबाट मोदीको अभिनन्दन गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारको तर्फबाट मोदीलाई स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले आफ्नो आवश्यकता र प्राथमिकतालाई आफैले निर्धारण गर्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो सम्मानमा गरेको नागरिक अभिनन्दन ग्रहण गर्दै प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र प्राथमिकतलाई अगाडि बढाउन भारत काँधमा काँध मिलाउन तयार रहेको बताए ।

नेपालको सफलता र खुसी नै भारतको पनि सफलता र खुसी भएको बताउँदै उनले नेपालको विकासमा जहिल्यै पनि सहयोग गर्न तयार रहेको प्रतिवद्वता जनाए ।

सगरमाथा आरोहीहरुलाई शेर्पाहरुले गरेको सहयोगजस्तै नेपालको विकास यात्रामा भारत शेर्पाको भूमिका निभाउन तयार रहेको भारतीय प्रधानमन्त्री मोदीले बचन दिए ।

भूकम्पछि नेपालीहरुले देखाएको अदम्य साहस र धैर्यको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले पुनर्निर्माणमा नेपालले गरेको प्रगति निष्ठाकोे प्रमाण भएको बताए ।

छिमेकीहरुलाई संधै साथमा लिएर हिँड्न भारत तयार रहेको उनको भनाइ थियो ।

छिमेकी पहिलो भन्ने आफूहरुको नीतिमात्र नभइ जीवनपद्वति भएको भन्दै प्रधानमन्त्री मोदीले विश्वका साझा चुनौती सामना गर्न आफूहरु सहकार्यको दिशामा अघि बढेको स्पष्ट पारे ।

प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा नेपाल, नेपाली र काठमाडौं उपत्यकाको विविध पक्षको खुलेर प्रशंसा गरे ।

नेपाल शस्त्रलाई तोडेर स्नेहले जोड्ने भूमि रहेको भन्दै उनले यहाँ आउँदा आफूलाई शान्ति र आत्मियताको अनुभूती हुने बताए ।

संसारभरका मानिस शान्तिको खोजिमा नेपाल र भारत आउने गरेको भन्दै मोदीले समय मिलाएर आफू बुद्वको जन्मस्थल जाने बताए ।

आइपीएल क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेको उपस्थितीको प्रसंग जोड्दै भारतीय प्रधानमन्त्री मोदीले क्रिकेट मात्र नभइ अन्य खेलहरुमा पनि जनस्तरको सम्बन्ध जोडिनुपर्ने बताए ।