२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


मोदी भ्रमणमा ‘सफल’ देखियो नेपाली सुरक्षा अंग, यस्ता थिए चुनौति(भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/ईमेज:
काठमाडौं, बैशाख २९ । विश्वकै सुरक्षा चुनौतिमा रहेका मध्येका एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटकको नेपाल भ्रमण सम्पन्न भएको छ ।

सुरक्षाका दृष्टिले उच्च प्राथमिकतामा रहेका मोदीको भ्रमण सकुशल गराउनु समग्रमा सुरक्षा अंगका लागि सफलता बनेको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका मोदीको भ्रमण राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक रुपमा के कति सफल भयो त्यो आगामी दिनमा मूल्यांकन हुँदै गर्ला ।

तर प्रत्यक्ष चुनौति रहेको सुरक्षाका सन्दर्भमा भने भ्रमण सफल मान्नुपर्छ । विश्वका ठूला देशका नेता त्यसमा पनि विशिष्ट व्यक्तिको भ्रमण सफल गराउनमा सबैभन्दा ठूलो टाउको दुखाई सुरक्षा अंगहरुलाई पर्ने गर्दछ ।

अझ भारतका प्रधानमन्त्री मोदी त विश्वका उच्च सुरक्षा चुनौति रहेका पाँच नेताभित्र पर्छन् । यस्तोमा उनको भ्रमण बिना विघ्नबाधा सम्पन्न गराउनु नेपाली सुरक्षा व्यवस्थापनमा लागेकाहरुलाई निकै ठूलो चुनौति हो ।

यसअघि प्रधानमन्त्रीका हैसियतमा दुई/दुई पटक नेपालको भ्रमण गरिसकेका मोदी तेस्रो पटक नेपाल आएका हुन् । तर यसपटक भने अघिल्ला पटकभन्दा नेपालमै पनि उनीप्रति हेर्ने दृष्टिकोण फेरिएको थियो ।

२०७२ सालमा नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टी जनाउँदै मधेशमा भएको आन्दोलनको ओत लागेर आफ्नो अभीष्ट पूरा गराउनकै लागि भारतले नाकाबन्दी जस्तो अमानवीय काम गरेपछि नेपाली जनतामा ठूलो चोट परेको थियो ।

जुन आजका दिनमा पनि मल्हम लागेको छैन । यस्तोमा वाह्य चुनौतिका अतिरिक्त नेपालीको दुखेको मन कतै सडकसम्म पोखिने हो कि भन्ने त्रास पनि सुरक्षा अंगमा थियो ।

तर छिटपुट घटनाबाहेक सबै नेपालीले भ्रमणलाई नजिकबाट नियाले तर ठूलो विरोधमा उत्रेनन् । बरु सामाजिक संजालमा भने मोदी भ्रमणमा नाकाबन्दी नबिर्सन निकै खबरदारी गरियो ।

यस्तोमा नेपाली सुरक्षा अंगलाई मोदीको भ्रमण सफल बनाउन निकै सतर्कता जरुरी थियो ।

राजकीय भ्रमणलाई ध्यानमा राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागसहितका सुरक्षा जनशक्ति परिचालन गरियो ।

नेपाली सेनाको कमाण्डमा रहने गरी राजधानी काठमाडौं, जनकपुर र मुक्तिनाथसम्मको सुरक्षा प्रबन्ध गरिएको थियो ।

त्यसअतिरिक्त भारतबाट आएका भारतीय सुरक्षा अंगका विशेष कमाण्डोसम्मको पूर्ण रेखदेखमा यो भ्रमण सम्पन्न भयो ।

केन्द्रीय राजधानी काठमाडौंदेखि प्रदेश राजधानी जनकपुरहुँदै उत्तरी सीमावर्ती मुक्तिनाथसम्म सुरक्षाको परिचालन चुस्त ढंगले गरियो । कतिपय स्थानमा भने भारतीय सुरक्षाकर्मीको अलिक बढी नै चहलपहल देखिन्थ्यो ।

जेहोस् दुई देशका सुरक्षाकर्मीको अथक सतर्कता र चनाखोले संसारकै उच्च सुरक्षामा रहेका छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमण कुशलतापूर्वक सम्पन्न हुनु मुलुककै लागि सन्तोषको विषय हो ।

भिडियो