
बिराज रोस्यारा/
कैलाली, वैशाख ३१ । गएराति आएको आँधीबेहरी (हुरी)ले घरको छानो उडाउँदा घरमा लगाएको बल्ली (काठको खम्बा) खसेर एकजनाको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका १ माघी होमस्टेमा रहेको घरको छाना उडाएर खसेको सालको बल्ली लागेर स्थानीय ५६ वर्षीय चारुमणी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे जानकारी दिए ।
उनले टेलिफोन सेवा र प्रहरीको संचार सेटसमेत अवरुद्ध हुँदा जिल्लाबाट डाटाहरु संकलन गर्न समस्या भएको बताए ।
हावाहुरीका कारण जिल्लाका केही ठाउँमा चौपाया समेतको मृत्यु भएको छ भने सडक किनारका रुख र विजुलीका पोल ढल्दा केहिबेर सडक अवरुद्ध भएको छ ।
अत्तरिया–धनगढी सडकखण्डमा ढलेको रुख पन्छाएर बाटो खुलाईएको छ भने क्याम्पस रोडबाट धनगढी गाउँ जाने बाटोमा रहेको बिजुलीको पोल अझै हटाईएको छैन । जसले गर्दा पैदलयात्रुलाई समेत सो बाटो भएर हिडडुल गर्न असहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्