
काठमाडौं । बेलायत र युरोपेली संघ (ईयु)का अधिकारीहरु ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमत भएका छन् ।
महिनौं लामो वार्तापछि ईयुबाट बेलायतको बहिर्गमनसम्बन्धी ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमति जुटेको हो ।
दुवै पक्षका अधिकारीहरुबीचको गम्भीर छलफलपछि सम्झौताको मस्यौदामा सहमति जुटेको हो ।
मस्यौदामाथि बेलायती प्रधानमन्त्री टेरिजा मेले मन्त्रिहरुको समर्थन जुटाउनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् ।
मस्यौदामाथि प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्ने बताइएको छ ।
ईयूबाट बेलायत अलग्गिनुपर्ने पक्षमा सशक्त धारणा राख्दै आएका केही नेताहरुले सम्झौताको मस्यौदामा समेटिएका विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।
सहमतिले बेलायतलाई युरोपेली संघको नियन्त्रणमा राखिरहने उनीहरूको तर्क छ ।
नर्दन आयरल्यान्डको डेमोक्र्याटिक युनियनिस्ट पार्टीले सम्झौतालाई लिएर निकै गाह्रो हुने प्रतिक्रिया दिएको छ ।
महत्वपूर्ण मतदानहरुमा यो पार्टीले प्रधानमन्त्री मे लाई समर्थन गर्दै आएको थियो ।
तर कन्जरभेटिभ पार्टीले भने मतदान प्रक्रियामा गए सम्झौताको मस्यौदा अनुमोदित हुनेमा आफूहरु विश्वस्त रहेको बताएको छ ।
युरोपेली संघ र बेलायत दुवैले यसै महिनाको अन्तिमसम्म युरोपेली नेताहरूको शिखर बैठकबाट सहमति सार्वजनिक गरिने अपेक्षा गरेका छन् ।
सम्झौताको मस्यौदामा बेलायत र युरोपेली संघबीच भविष्यमा कस्तो सम्बन्ध हुने भन्नेबारे पनि उल्लेख गरिएको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्