
वासिंटन, कात्तिक २८ । केबल न्यूज नेटवर्क (सिएनएन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ ।
सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका संवाददाता जिम एकोस्टाको प्रेस पास ह्वाइट हाउसले रद्द गरिदिएको थियो । उनी सिएनएनका ह्वाइट हाउस मामला हेर्ने मुख्य संवाददाता थिए ।
मंगलबार वासिंटनमा मुद्दा दायर गरिएको हो । राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमै बहस भएपछि उनको प्रेस पास रद्द गरिएको थियो ।
सिएनएनका अनुसार पत्रकार एकोस्टाको संवैधानिक अधिकार हनन भएका कारण मुद्दा दायर गरिएको हो । मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको छ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एकोस्टाको अस्वीकार्य आचरणका कारण उनको प्रेस पास रद्द गरिएको बताएकी छन् । ‘कुनै पत्रकारले यस प्रकारको व्यवहार गर्दछ भने ह्वाइट हाउसले व्यवस्थित र निष्पक्ष पत्रकार सम्मेलन गर्न सक्दैन, व्यावसायिकताका दृष्टिले पनि त्यो व्यवहार सही होइन,’ उनले भनिन् ।
७ नोभेम्बरमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र पत्रकार एकोस्टाबीच विवाद भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्