
जयराम बास्तोला/ईमेज:
भक्तपुर, जेठ २ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको झौखेल र दुवाकोटमा अवैध रुपमा दर्जनौं बालुवाखानी संचालन भएका छन् ।
कानुन विपरीत संचालन गरिएका खानीविरुद्ध स्थानीयले उजुरी गर्दा समेत प्रशासनले उचित चासो देखाएको छैन । भक्तपुरको झौखेल र दुवाकोटमा नियम र कानुन मिच्दै बालुवाखानी चलाइराखिएको छ ।
अवैध बालुवा खानीको प्रत्यक्ष असर स्थानीयलाई परेको छ । एकातिर अवैध खानीको कारण भूमिदोहन बढेको छ भने अर्कातिर गाउँ गाउँ जाने सडक बिग्रिएर हिड्नै नसक्ने अवस्था भएको छ ।
स्थानीयले भने प्रहरी र प्रशासनसमेतको मिलेमतो दोहन भइरहेको आरोप लगाएका छन् । स्थानीयले बालुवा खानीकाविरुद्ध उजुरी गरेपनि सुनुवाई नै भएन ।
यस्तो मनपरी र ज्यादतीविरुद्ध प्रहरी र प्रशासन नउभिएको बरु उल्टै सास्ती खानुपरेको गुनासो स्थानीयको छ । कानुन विपरीत बालुुवा खानी र पखालेको पानीले कासुला टोल जाने बाटो हिड्नै नहुने भएको छ ।
वालुवा वासिङ्गका लागि जमिनमुनीको पानी निकाल्दा पानी सुक्दै गएको स्थानीयको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयमा पुगेर अवैध खानी बन्द गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुग्दा थुनिनुपरेको प्रदीपराज पन्त बताए ।
प्रजिअले निर्देशन दिएपनि खानी बन्द गराउन प्रहरीले चासोे नदिँदा खानी निर्बाध रुपमा चलेका हुन् ।
खानी बन्द गर्न अख्तियारमा मुद्दा परे पनि खासै कार्वाही नभएको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको भनाइ छ ।
कानुन विपरीत काम गर्नेले नै सर्वसाधारणलाई सास्ती दिँदासम्म पनि कानून कार्यान्वयन गर्ने निकाय मौन बसेकामा असन्तुष्ट स्थानीयले तत्काल समस्याको समाधान खोज्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्