२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा


0
Shares

ललितपुर, जेठ ४ । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ ।

ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले÷नचलेको जाँच गरिएको परिसरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए ।

उनले भने, ‘हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर नराख्नेलाई धमाधम कारबाही पनि गरिरहेका छौं ।’

ट्राफिक प्रहरीले यसअघि ट्याक्सी रोक्ने ठाउँमा अनुगमन गर्दै आएको प्रहरी निरीक्षक हाछेथुले बताए । यस अघि सिभिल ड्रेसका ट्राफिक प्रहरीले यात्रु बनेर छड्के जाँच गर्दा दोषी देखिएकालाई कारबाही गर्दै आएको थियो । ट्राफिक प्रहरीको हाउभाउ र उनीहरूलाई सडकमा देखिरहेकाले चालकले चिन्ने गर्दथे । अहिले गुडिरहेको ठाउँमा कारबाही थालिएको हो ।

उनले भने, ‘अहिले हामीले गरेको कारबाही यात्रु आफैंँले पनि देख्नुहुन्छ ।’

ट्राफिक प्रहरीले भनेको ठाउँमा जान नमान्ने चालकलाई समेत कारवाही गर्दै आएको छ । चालकले काठमाडौंमा नयाँ यात्रु हो भन्ने चिन्दा मिटरमा नजाने र बढी भाडा लिने गरेको नियमित अनुगमनका क्रममा पाइएको जानकारी दिँदै प्रहरी निरीक्षक हाछेथुले भने, ‘यो ठाउँ कहाँ पर्छ भन्नासाथ चालकले यात्रु नयाँ भन्ने चिन्ने र उनीहरुलाई बढी ठगेको पाइयो ।’ (रासस)