
वासिंटन, जेठ ६ । अमेरिका र चीनबीचको व्यापारिक युद्धको त्रास घट्ने सम्भावना बढेको छ ।
अमेरिकी वस्तु तथा सेवा आयात गर्न चीनले सहमति जनाएपछि यस्तो सम्भावना बढेको छ । चीनसँगको सहमतिबाट पेइचिङसँगको ३३५ विलियन डलर वार्षिक व्यापार घाटामा कमी आउने बासिंटनले जनाएको छ ।
अमेरिका र चीनले जारी गरेको संयुक्त वक्तव्यमा दुवै मुलुक अमेरिकी कृषि तथा उर्जा निर्यातलाई अर्थपूर्ण रुपमा बृद्धि गर्न सहमत भएको उल्लेख गरिएको छ ।
चीनले अमेरिकाबाट थप बस्तु निर्यात गर्ने छलफललाई निरन्तरता दिन पनि दुई मुलुक सहमत भएका छन् । यसबाट अमेरिकाको अर्थतन्त्र र रोजगारी बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
तर कुनै पनि पक्ष सहमतिबाट दुई मुलुकबीचको व्यापार युद्धको आशंकाको त्रासलाई निरुत्साहित गर्ने विषयमा भने स्पष्ट पारिएको छैन ।
अमेरिका र चीनले दुवै मुलुकबाट आयात गरिने बस्तुमा अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेपछि व्यापारिक युद्धको त्रास बढेको थियो । तर यो निर्णय भने कार्यान्वयन भएको छैन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले प्रविधि, कपी राइटजस्ता अमेरिकी बौद्धिक सम्पत्ति चोरेको भन्दै चिनियाँ बस्तुमा १५० विलियन डलरसम्मको अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए ।
जवाफमा चीनले पनि अमेरिकी बस्तुमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्