२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सहपाठीबाटै निर्घात कुटिएका श्रीनवको अभिभावकद्वारा दोषीमाथि कारवाहीको माग


0
Shares

काठमाडौं, जेठ ६ । चितवनको सैनिक महाविद्यालयमा स्कुल छुट्टी हुने आशमा आफ्नै साथीबाट निर्घात कुटिएका विद्यार्थीका अभिभावकले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

सैनिक आवासीय महाविद्यालयको कक्षा ९ मा पढ्ने तीन छात्रले आफ्नै साथी १४ वर्षीय श्रीनव लामिछानेमाथि निर्घात कुटपिट गरेका हुन् । होस्टलमा एउटै कोठामा बस्ने क्रिस थापा, अनीष श्रेष्ठ र रिवाज रेग्मीले सामूहिक रुपमा श्रीनव लामिछानेमाथि कुटपिट गरेका हुन् ।

गत वैशाख २८ गते बिहान ३ बजेतिर पिसाब फेर्न जाने बहाना बनाई शौचालयमा लगेर श्रीनवमाथि आक्रमण गरेको बताइएको छ ।

कुटपिटको सम्बन्धमा उजुरी परेपछि प्रहरीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । विद्यार्थी मरेमा विद्यालय छुट्टी हुने आशामा श्रीनवको हत्या गर्ने उद्देश्यले नै कुटपिट गरेको बयान अभियुक्तहरुले दिएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रभु ढकालले जानकारी दिए ।

पीडित परिवारले विद्यालयको लापरवाहीप्रति आक्रोश पोख्दै न्याय मागिरहेका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रीनवकी आमा सृजना लामिछानेले दोषीलाई कारबाहीको माग गरिन् । उनले भनिन्, ‘हामीले भरोसा गरेको स्कुलमा यस्ता घटना हुनु स्वाभाविक रुपमा लिन सकिँदैन, समूहमा मिलेर ज्यान मार्ने सम्मको योजना बनाएर रातिको समयमा बाथरुममा लगेर कुटपिट गर्नुलाई हामीले के भन्ने ? यस विषयमा प्रशासन पनि बोलेको छैन, सैनिक महाविद्यालयले पनि कुनै जवाफ दिएको छैन ।’

पत्रकार सम्मेलनमा पीडित लामिछानेकी काकी स्वीकृति पौडेलले उक्त घटनालाई गुपचुप राख्न राजनीतिक शक्तिहरु समेत लागेको आरोप लगाइन् ।