Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चुरे तथा भित्री मधेसका जिल्लालाई काठमाडौं जोड्ने नयाँ राजमार्ग निर्माण गरिने


0
Shares

काठमाडौं, जेठ ७ । सरकारले चुरे तथा भित्री मधेसका जिल्लालाई उपत्यकामा जोड्ने नयाँ राजमार्ग निर्माण गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले करिव १२०० किलोमिटर लामो राजमार्ग निर्माण गर्न स्वीकृत गरेको हो ।

भौतिक मन्त्रालयको प्रस्तावअनुसार यो निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो राजमार्गको नाम ‘मदन भण्डारी राजमार्ग’ दिइएको छ ।

झापाको शान्तिनगरबाट सुरु हुने यो राजमार्ग धरान, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगवुढा हुँदै रुपालसम्म पुग्नेछ ।

यसैबीच मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिको म्याद थप गरेको छ ।

गत चैत ३० गते सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा गठित समितिको म्याद यही जेठ मसान्तसम्मका लागि थप गरिएको हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको समितिले गरेको सिफारिसका आधारमा अहिले मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । समितिले थप छानबिन गरिरहेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संरचना पनि स्वीकृत गरेको छ ।