२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सगरमाथा आरोहण सम्पन्न, ४०० बढी शिखरमा, ३६ करोड राजश्व संकलन


0
Shares

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।

यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ ।

यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्नसक्ने पर्यटन विभागको भनाइ छ ।

विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ ।

सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

यसैगरी, कन्चनजंघाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरिबाट रु ६३ लाख ६३ हजार ९०, आमादब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रित भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टीसमेत फरक ऋतुमा फरक–फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ ।

यस्तै, शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ ।

यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि सरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाँग्न पुगेका ८ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।

संसारभर छाए कामीरिता
आरोहणको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका थिए । उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् ।

यस्तै, पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गरेका छन् । सन् २००४ मा पेम्बाले ८ घन्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

२२ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाकाबारेमा अन्तर्राष्ट्रिय सन्चारमाध्यमले विशेष समाचार सामग्री प्रस्तुत् गरेका छन् ।

यसअघि, कामीरितासहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो ।

सोलुखुम्बुका कामीरिताले विश्व कीर्तिमान राखेसँगै विश्वभरका सन्चारमाध्यमको ध्यान उनीतर्फ केन्द्रित भएको हो ।

बेलायतको प्रसिद्ध ‘गार्डियन’को अनलाइन संस्करणमा ४८ वर्षे कामीरिताले कीर्तिमान कायम राखेको विषयलाई महत्वका साथ प्रचार गरेको छ ।

सो पत्रिकाको अनलाइन संस्करणमा भनिएको छ–‘कामीरिताले २५ पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।’

२४ वर्षको उमेरमा सगरमाथा आरोहण सुरु गरेका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसकेका छन् ।

यसैगरी, भारतको ‘हिन्दूस्तान टाइम्स’, बेलायतको अर्को ‘मिरर’को अनलाइन संस्करणले पनि कामीरिता र लाक्पाको कीर्तिमानको महत्वका साथ चर्चा गर्दै समाचार सामग्री प्रस्तुत् गरेका छन् ।

यसैगरी, अमेरिकाको ‘एबिसी न्यूज’, ‘वासिङ्टन टाइम्स’, ‘सिकागो सन् टाइम्स’, पाकिस्तानको ‘पाकिस्तान टुडे’, क्यानडाको ‘द स्टार’लगायत विश्वप्रसिद्ध सन्चारमाध्यमले सर्वोच्च शिखरको आरोहणको समाचारलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका थिए ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सर्वोच्च शिखरको आरोहण गरेका थिए ।

सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब ८ हजारले सगरमाथाको शिखर चुमेका छन् ।

यस्तै, आरोहणकाक्रममा २८६ जनाको ज्यान गएको छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

सन् २०१६ मा ३८ ओटा समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । गत वर्षमाभन्दा यस वर्ष आरोहण सहज देखिएको छ ।

विगतमाभन्दा कम क्षति
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणकाक्रममा तीनजनाको मृत्यु भएको छ । यस्तै, हिमपहिरोमा परी एकजना बेपत्ता भएका छन् ।

खुम्बु फर्कनेक्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ ।

खुम्बु–पासाङल्हामु गाउँपालिका–१ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीकाअनुसार आधारशिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते भएकी शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका–५ स्थित माउन्टेन मेडिकलमा लगिएको र उपचारकाक्रममा उनको मृत्यु भएको थियो ।

शेर्पा हिमालयन एसोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा गएकी थिइन् ।

यसअघि, सगरमाथा आरोहणकैक्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर ३ पुगेर फर्कनेक्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार अघिल्ला वर्षमाभन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ ।

सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो ।

यस्तै, सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो । सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए ।

यस आधारमा हेर्दा यसपटकको आरोहणमा कममात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्षभन्दा यसपटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षतिसमेत कम भएको बताउँछन् ।

आरोहणकाक्रममा बढी सर्तकर्ता अपनाइएको, तालिमप्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूर्ण आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उनको भनाइ छ ।

आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए ।