२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


ताप्लेजुङ सदरमुकामबासीको घर–घरमा टाँसियो स्टिकर


0
Shares

ताप्लेजुङ, जेठ १४ । प्रदेश नम्बर १ अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सय दिने कार्ययोजना अन्तर्गत ताप्लेजुङमा प्रहरीको नम्बरसहितको सूचनामुलक स्टिकर टाँसिएको छ ।

कार्य योजनामा रहेको ‘जनतासँग प्रहरी’ कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यसहित सदरमुकामबासीको घर–घरमा सूचनामुलक स्टिकर टाँसिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

‘नागरिक सूचना र सुरक्षाका लागि नागरिकको घरमा स्टिकर टाँस’ नामक अभियान अन्तर्गत सोमबार बिहान प्लेकार्डसहित नगरपरिक्रमा लगायतका कार्यक्रम गरी प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँसिएको हो । यो अभियान प्रदेश नम्बर १ का सबै जिल्लामा एकै साथ शुभारम्भ गरिएको छ भने एक महिनाभर सञ्चालन हुने बताईएको छ ।

ताप्लेजुङमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा अभियान अन्तर्गतको कार्यक्रम सञ्चालन गरेका हुन् । यस अभियानबाट आमनागरिकलाई आपराधिक घटनाको सूचना आदानप्रदान गर्न साथै शान्ति सुरक्षाको स्थितिलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।