१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा, यस्तो देखियो रौनक (फोटोफिचर)


0
Shares

काठमाडौं, जेठ १५ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन् ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक÷एक जोडी परेवा उडाएका थिए ।

समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गरेका थिए ।

समारोहमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमि नगरपालिका, कीर्तिपुर नगरपालिकाले आआफ्ना स्थानीय कलासंस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए ।

झाँकीमा पञ्चकन्या सहभागी हुनुका साथै, लाखे, लाठीनाच, अष्टमातृका नाच प्रस्तुत गरियो भने बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति नेपाल, परम्परागत बौद्धधर्म संघ, जिल्ला समन्वय समिति, राष्ट्रिय युवा परिषद्, राष्ट्रिय खेलकुद परिषद्ले पनि ब्यानरसहित सहभागिता जनाएका थिए ।

(रासस)