
काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विजयको प्रतीक भएकाले सबै नेपालीले उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् ।
११ औं गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुंडिखेलमा आयोजित कार्यक्रममा उनले सबै नेपालीको हित र सुखको व्यवस्था गणतन्त्र भएकाले उत्सवको रुपमा मनाउन आग्रह गरेका हुन् ।
उनले परिवर्तन संस्थागत गर्दै दिगो रुपमा गणतन्त्रलाई संस्थागत गर्न आ–आफ्नो कर्तव्य दृढतापूर्वक पालना गर्न पनि सबैसँग आह्वान गरे ।
जनतालाई रैती ठान्ने प्रवृतिको अन्त्य भएको भन्दै उनले सार्वभौम नेपाली जनताको अधिकार अब कसैले हरण गर्न नसक्ने स्पष्ट पारे ।
गरिबी न्यूनीकरण, भ्रष्टाचारको अन्त्य र सुशासन सरकारको लक्ष्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य पूरा गर्न सहयोग गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता सुदृढ हुँदै गएको र छिमेकीसँगको सम्बन्ध पनि सुमधुर हुँदै गएकोबताए ।
उनले मुलुक अब विकासको मार्गमा अगाडि बढेको भन्दै सबैलाई राष्ट्रिय एकताको मुलधारमा आउन पनि आह्वान गरे ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासको प्रतिबद्धतासहित संसद्बाट सर्वसम्मतिले सरकारको नीति तथा कार्यक्रम पारित भएको भन्दै लोकतन्त्र नेपालीका लागि कसैले सापटीमा दिएको बिधि नभएर लडेर स्थापना गरेको जीवन पद्धति भएको पनि बताए ।
कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित व्यानर प्रर्दशन गर्नुको साथै पुष्पबृष्टि गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला कौशल र मार्चपास प्रदर्शन गरेका थिए ।
गणतन्त्र दिवसकै अवसरमा काठमाडौ, ललितपुर र भक्तपुर महानगरापालिकाले साँस्कृतिक झलक प्रस्तुत गरेका थिए भने बिभिन्न झाँकी प्रदर्शन र देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधिश दिपकराज जोशी, सभामुख कृष्णबहादुर महरालगायत संवैधानिक निकायका प्रमुख, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले शान्तिका प्रतीक परेवा उडाएर मुलुक शान्ति र विकासतर्फ गएको संकेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्