२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतमा ‘निपा’ भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो


0
Shares

यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ वर्षीया एक महिलाको बुधबार राति मृत्यु भएपछि सो संख्या १६ पुगेको बताइएको हो ।

‘केरलाको कोझिकोडे र मलापुरम जिल्लामा सुरु भएको यस भाइरसको प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको छ’–यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

साथै, यस निपा भाइरसबाट ९४ जना प्रभावित भएका र अझैपनि १७ जना उपचारकाक्रममा अस्पतालमा रहेका सो राज्यका स्वास्थ्यमन्त्री के के शैलाजाले बताएकी छन् ।

भारतमा निपा भाइरसको प्रकोप फैलिएको यो तेस्रोपटक हो । यसअघि, सन् २००१ मा र २००७ मा पनि भारतमा निपा भाइरसको प्रकोप फैलिएको थियो ।

त्यसबेला बंगलादेशको सीमा क्षेत्रमा पर्ने पश्चिम बंगलामा निपा भाइरसका कारण ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो भाइरसको प्रकोप सबैभन्दा पहिला सन् १९९९ मा मलेसियाबाट सुरु भएको थियो । स्वास्थ्य क्षेत्रका अधिकारीहरुकाअनुसार यस भाइरसको खोप बनेको छैन ।

यो भाइरसको संक्रमणले कडा मात्रामा ज्वरो आउने र श्वास–प्रश्वासमा असर गर्ने गर्दछ ।

यसको संक्रमण भएपछि सघन उपचारकक्षमा राखेर श्वास-प्रश्वासमा सघाउ पुर्‍याउनेगरी उपचार विधि सुरु गर्नुपर्छ । रासस/सिन्ह्वा