१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चोरीमा संलग्न ७५ जना नियन्त्रणमा, चोरीका घटना रातिभन्दा दिउँसो बढी


0
Shares

महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत् उनीहरूलाई पक्राउ गरेको हो ।

महाशाखाले महाराजगन्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग, कपन, बूढानीलकन्ठ, कीर्तिपुर, पेप्सीकोला, भक्तपुरको सूर्यविनायक, पन्डुबजार, सल्लाघारी, बालकोट ठिमी र ललितपुरको सानेपा, भैंसेपाटी, सुनाकोठी, महालक्ष्मीस्थान, इमाडोल, टिकाथली, लुभुबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख धीरजप्रताप सिंहले उपत्यकामा चोरीका घटना रातिभन्दा दिउँसोको समयमा बढी हुने गरेको जानकारी दिए ।

‘घरमा कोठा खोज्ने तथा भेटघाटका लागि घरमा आएको बहानामा घरमा पसी चोरी गर्ने गरेको अनुसन्धानमा भेटिएको छ’–उनले भने ।

रातको समयमा झ्यालबाट हुक छिराइ कोठामा भएको बहुमूल्य सामान चोरी गर्ने, नक्कली सुन तथा डलर देखाइ लुटपाट गर्ने, अफिस समयमा सार्वजनिक यातायातमा हुने पाकेटमार, बिस्कुटको धुलो शरीरमा छर्केर नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले चोरीका घटना नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा १२५ जनशक्ति परिचालन गरिएको सिंहले जानकारी दिए । रासस