१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


प्रदेश–३ मा पेट्रोलबाट चल्ने सवारी–साधन निषेध गरिने


0
Shares

बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासा र प्रश्नको जवाफ दिँदै प्रदेश नम्बर–३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करिब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताए ।

मुख्यमन्त्री पौडेलले रसुवाको हिमाली क्षेत्र लाङ्टाङलगायत पर्यटकीय क्षेत्रको विकास र रेडपान्डाको अनुसन्धान, सम्बद्र्धन गर्ने एवं वातावरणमा स्वच्छता ल्याउने कार्यमा योगदान गरेका डा. प्रल्हाद योञ्जनलाई सम्मान गर्न स्याफ्रुबेसीदेखि लाङ्टाङ उपत्यकाको क्याङजिङ पदयात्रा मार्गलाई डा. प्रह्लाद योञ्जन रेडपान्डा पदयात्रा मार्ग नामकरण गरिएको जानकारी दिए ।

यसैगरी, उनले प्रदेश नम्बर–३ मा उत्पादनमूलक रोजगारी दिलाउन सरकारले सहकारीबाट सन्चालन हुँदै आएको आर्थिक गतिविधिलाई अब घरेलु उद्योग तथा मझौला उद्योग स्थापना र विस्तारमा पनि जोडी लागू गर्ने नीति रहेको स्पस्ट पारे ।

मुख्यमन्त्री पौडेलले आगामी २०८५ साल वैशाख १ गतेसम्म काठमाडौं उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा हल्का सवारी–साधनको चाप बढ्दै जाँदा पैदलयात्रीलाई आगमनमा कठिनाइ हुनाका साथै वातावरण प्रदूषित हुने भएकाले ती क्षेत्रमा पेट्रोलबाट चल्ने हल्का एवं हेभी सवारी–साधनलाई निषेध गर्ने र विद्युतीय सवारी–साधानलाई उच्च प्राथमिकताका साथ सन्चालनमा ल्याउने सरकारको प्रमुख योजना रहेको बताए ।

प्रदेशसभाको अर्को बैठक यही जेठ ३० गते अपराह्न २ बजे बस्नेछ । रासस