
शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशप्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रस्तुत् नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ ।
त्रिदेशीय द्रुतमार्ग, रेलमार्ग, सुर्खेतमा प्रदेशस्तरीय एअरपोर्ट, विभिन्न स्थानका एअरपोर्टहरुको स्तरोन्नतिका साथै हुम्लालाई पर्यटकीय एअरपोर्ट बनाइने उल्लेख छ ।
यसका लागि एक वर्षभित्र डीपीआर तयार गरी सरकारी–निजी साझेदारीमा निर्माणकार्य प्रारम्भ गर्ने उल्लेख गरिएको छ ।
यस्तै, अबको पाँच वर्षभित्र प्रतिव्यक्ति आय २१ सय डलर पुर्याउने लक्ष्य राखिएको छ ।
पर्यटनको सम्भावना भएकाले कर्णालीलाई पर्यटकीय हव बनाउने, विकास र समृद्धिका लागि ‘उज्यालो कर्णाली कार्यक्रम’ सन्चालन गरी पाँच हजार मेगावाट जलविद्युत् उत्पादन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।
गाउँ तथा नगरमा वैकल्पिक ऊर्जाको व्यवस्था गरी आगामी तीन वर्षभित्र कर्णालीमा विद्युतीकरण गरिने, पछाडि परेको भू–भागका समुदाय र परिवारलाई योजना तथा विकास कार्यक्रममा प्राथमिकता दिइने उल्लेख छ ।
‘एक घर एक रोजगारी’ कार्यक्रम सन्चालन गरी वर्षमा १०० दिनको रोजगारी दिने नीति लिइने कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्