
इलाम, कात्तिक १८ । इलाममा लिंगे पिङ हाल्ने संस्कृति हराउँदै गएको छ ।
बडादसैं तथा तिहारमा लिंगे पिङ हालेर मनोरन्जन गर्ने गरिएको भए पनि पछिल्लो समयमा यस्तो प्रचलन कम हुँदै गएको हो । केही वर्षअघिसम्म गाउँघरका युवाले बाबियो काटेर पिङको लुठो बाट्ने र बाँसका ४ ओटा लिंगा गाडेर पिङ हाल्ने चलन थियो ।
दसैंको सुरुवातदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर अहिले युवाहरु रोजगारीका सिलसिलामा विदेश जान थालेसँगै दसैं र तिहारको रौनकका रुपमा रहेको लिंगे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो ।
विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र दोहोरी खेलेर रमाइलो गर्ने चलन थियो । अहिलेको पुस्ताले यस्ता कुरामा खासै चासो दिन छाडेको गाउँघरका ज्येष्ठ नागरिकहरु बताउँछन् ।
पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधन प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्