
काठमाडौं, कात्तिक १७ । पाकिस्तान सरकारले कट्टरपन्थी इस्लामिक पार्टीले देशव्यापीरुपमा चर्काएको विरोध प्रदर्शन रोक्न आन्दोलनकारीसित सम्झौता गरेको छ ।
इस्लाम धर्मको निन्दा गरेको अभियोगमा इसाइ महिला आसिया बीबीलाई दिएको मृत्युदन्डको सजाय त्यहाँको सर्वोच्च अदालतले उल्टाइदिएपछि विरोध प्रदर्शन चर्किएको छ ।
सम्झौताअनुसार आसिया बीबीलाई मुलुक छाडेर जान अनुमति नदिइने भएको छ । तर, प्रतिबन्ध कति समयका लागि हो ? भन्ने स्पस्ट भएको छैन ।
अदालतको निर्णयविरुद्ध कानुनी चुनौती दिन प्रदर्शनकारीहरुलाई नरोकिने पनि भएको छ ।
यस्तै, पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्ने र उनीहरुविरुद्ध बल प्रयोग गरिएको विषयमा छानबिन गर्ने सहमति पनि भएको छ ।
गत बुधबार आसिया बीबीविरुद्ध प्रमाण नपुगेको भन्दै सर्वोच्चले मृत्युदन्डको सजायमा सफाइ दिएको थियो ।
आसिया बीबी विगत ८ वर्षदेखि त्यहाँको जेलमा छिन् । सुरक्षाको कारण देखाउँदै उनलाई रिहा गरिएको छैन ।
यता, आसियाका तर्फबाट बहस गर्दै आएका वकिल सेफ मुलोकले भने सुरक्षाको कारण देखाउँदै पाकिस्तान छाडेका छन् ।
मुलुक छाडेपछिमात्र उनको पक्षमा काम गर्नसक्ने अवस्था आएको भन्दै उनले मुलुक छाडेको बताइएको छ ।
सन् २०१० मा आसिया बीबीमाथि धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेकामा दोषी ठहर गरिएको थियो । तर, उनले आरोप अस्वीकार गरेकी थिइन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्