११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


राष्ट्रपति ट्रम्प जन्मसिद्ध नागरिकताको अधिकार अन्त्य गर्ने पक्षमा


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकतासम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा विचार गरिरहेको बताएका छन् ।

अमेरिकाको एउटा वेबसाइटसँगको अन्तवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने प्रावधान परिवर्तन गर्नेबारे आफूले विचार गरिरहेको बताएका हुन् ।

उनले १ सय ५० वर्षअघिको प्रावधान समयानुकूल नभएकाले आफू त्यस्तो प्रावधान अन्त्य गर्ने पक्षमा रहेकाले कंग्रेसको अनुमोदनविना नै कार्यकारी आदेशमार्फत् त्यस्तो कदम चाल्न सकिने स्पष्ट पारेका हुन् ।

तर राष्ट्रपतिले विधायिकाको अनुमोदनबिना आफ्नो एकल निर्णयले त्यस्तो कानुन परिवर्तन गर्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट छैन ।

संविधान संशोधन मार्फत सन् १८८६ देखि कायम रहेको जन्मसिद्ध नागरिकताको अधिकारसम्बन्धी प्रावधान उल्टाउन सक्ने अख्तियार राष्ट्रपतिसँग नरहेको अधिकांश विज्ञको भनाइ छ ।

राष्ट्रपति आफ्नो योजनाअनुसार अघि बढेमा उनले त्यसप्रति कानुनी चुनौतीको सामना गर्नपर्ने हुनसक्नेसमेत बताइएको छ ।

अमेरिकाको संविधानले अमेरिकामा जन्मेका र अंगीकृत नागरिकता लिएका सबैलाई अमेरिकी नागरिक मानेको छ ।(एजेन्सी)