
काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनैपनि कार्य मान्य हुन नसक्ने बताएका छन् ।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत् प्रधानमन्त्री ओलीले मंगलबार सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् ।
उनले दंगा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति–सुव्यवस्था भंग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन् ।
चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनले विगतमा झैं समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गरेका छन् ।
प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सन्चारमाध्यमबाट आफ्नो स्वास्थ्यकाबारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्–‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाकाबारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यकरुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् ।
उनले आफ्नो स्वास्थ्यकाबारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अंग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
स्वास्थ्यस्थिति सुधारोन्मुख
प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको सो अस्पतालले जनाएको छ ।
अस्पतालले प्रधानमन्त्रीको संक्रमण नियन्त्रण गरी उनको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएकाले उनलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने महानुभावको आकांक्षालाई आत्मसात् गरिए तापनि भेटघाट गराउन नसकिने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्